श्रीमते रामानुजाय नमः
गर्भस्तुति
श्री कृष्णको दिव्य कृपाहुनाले
सम्झी हजारौं जुनि आत्तिनाले ।
सात् मासको बालक गर्भभित्र
जोडी दुबैहात रुँदै पुकार्छ ।
हे नाथ! यो गर्भ विषे मलाई
डाहा भयो लौन हरे! दुहाई ।
पोल्यो कडा अग्नी बली उदर्मा
दुःखी भई रुन्छु हरे! विशुर्मा ।
श्रीनाथ ! नारायण ! चक्रधारी !
क्वै छैन मेरो अरु हे मुरारी! ।
त्यो तत्त्व बाहेक विवेक गर्ने
साथै बसी दुःख र ताप हर्ने ।
माता पिता बान्धव सद्गुरु र
एश्वर्य विद्या अरु इष्टमित्र ।
मानिन्छ मेरो जति अन्त अन्त
अाचार्य रुपी प्रभुनै अनन्त ।
अज्ञानले यो नबुझेर नाता
सम्झी अरूलाई पिता र माता ।
संसारमा धेर घुमेछु हाई
चौरासी लाखै जुनिमा रमाई ।
भारी विपत् पर्नगयो मलाई
चौरासी लाखै जुनि घुम्नलाई ।
क्याहो कताहो कतिहो कसोरी
कुन्कर्म हो दुःख दिने यसोरी।
विचार केही नगरी कुचाल्मा
घुम्दै परीयो दृढ बन्ध जाल्मा ।
साहै कुकर्मी भइ वेरवेरै
पर्दैछु यो गर्भ विषे घनेरै ।
क्वैछैन हेनाथ सहाय अर्को
बल्दोछ दन्की जठराग्नि चर्को ।
कुक्रुक्क डल्लो परि हा! रुँदैछु
दन्केर अागो उठि पिल्सिदैछु ।
हालेर थैलो बिच बन्द पारी
अान्द्राहरूले कसि हे मुरारी ।
मानीसको देह महा पसाली
कस्ले दियो कुण्ड महाखसाली ।
पाएँ ठुलो अापत वेरवेरै
कीराहरू क्रुद्ध भई घनेरै ।
रोप्ता हरे दुर्धर तीक्ष्णभाला
खप्नै नहुने गरि पोल्छ छाला ।
तातो र पीरो जननी रमाई
खान्छिन् जसै हा! अधिको कमाई ।
पोलेर सारा जिउ चर्कनाले
तुरून्त मुर्छा हुन जान्छु कैले ।
चल्दो हुरी हर्दम हे मुरारी !
रिसाइ अत्यन्त वहन्छ भारी ।
एकत्र संस्था नभएर नाथ!
हल्ली रहन्छु अति कष्ट साथ ।
बिष्ठा रगत् मूत्रहरू गन्हाई
दुर्गन्ध खप्नै नहुनेछ हाई ।
कैले निकाली दिनुहुन्छ नाथ!
यो गर्भरूपी नरकाब्धिबाट ।
मरें मरें लौन हरे! मुरारे!
श्री नाथ! नारायण ! चक्रपाणे! ।
मेरो कुनै छैन शरण जगत्मा
स्वामी बिना रक्षक अन्तरात्मा ।
अष्टाङ्गले वन्दन गर्छु नाथ!
पाऊ परी रुन्छु म दुःख साथ ।
लौलौ बचाई दिनु होस राम
शरण परें आर्तबनी निकाम ।
छोडी बुबाको करुणार्द्र पाऊ
अन्यत्र जाने अब छैन दाऊ ।
छोडें सबै बन्धु र इष्ट मित्र
स्वामी बिना हे शरणार्थि मित्र ! ।
ती नाथका भक्त र नाथ फेर
अाचार्यको भक्ति गरेर धेर ।
उद्धार यो चेतनको गरौंला
सर्वस्व छोडी पदमा परौंला ।
संसार तर्नेछ उपाय सत्य
श्रीपादसेवा हरि भक्ति नित्य ।
हे शुद्ध सत्वात्मक रूप राम
वात्सल्य सौशील्य गुणैकधाम ।
खाएँ कसम् निश्चय श्रीनिवास
जानेर नारायणदासदास ।
राखेर मन्भित्र सदा रमाई
त्यो दिव्य चिन्हाङ्कित पाउलाई ।
गर्दै महात्माहरुको सुसंग
त्यागीदिनेछु अरुको कुसङ्ग ।
गर्नेछु किङ्कर बनि दास्यवृति
देखी महात्माहरुको प्रवृति ।
छुट्टी मिलेमा हरि नाम जप्तै
संसारको दुःख अनन्त खप्तै ।
उद्धार धेरै जनको गरौंला
अाचार्यको बन्धनमा परौंला ।
श्रीकृष्ण! गोविन्द ! हरे! मुरारे
हेनाथ! नारायण! वासुदेव ।
रचना – स्वामी श्रीगोविन्दाचार्य विराटनगर