विद्वान् श्रीकृष्णमाचार्यस्वामीज्यू विक्रम संवत् २०२२ श्रावण २९ गते भाद्रकृष्णपक्ष द्वितीया तिथि, शतभिषा नक्षत्र, शुक्रवासर सायं ७ बजे नेपालको सुरम्यक्षेत्र, प्राकृतिक सौन्दर्यवैभव देदीप्यमान पश्चिमाञ्चल अन्तर्गत लुम्बिनी अञ्चलको पाल्पा जिल्लाको देवगिरि माथागढी गाउँमा वैदिक सनातन धर्मानुयायी, श्रीयोगेश्वर ज्ञवालीका र माता श्रीपद्मकुमारी ज्ञवालीका गर्भबाट द्वितीय सन्तानका रूपमा कालयुक्तिनामक संवत्सरमा जन्मनुभएको हो । माण्डव्यगोत्रका रत्न प्रज्ञानिधि कृष्णयजुर्वेदका समेत ज्ञाता श्रीकृष्णमाचार्यस्वामीज्यू शुक्लयजुर्वेदको माध्यन्दिनीय वाजसनेयकात्यायनशाखासूत्राध्यायी वंशमा जन्मनु भएको थियो । श्री स्वामीजी विशिष्टाद्वैतवेदान्त,आगमशास्त्र,आचार्यआल्वारसम्बन्धी चरित्रवैभवका विशेषज्ञ तथा द्राविडसाहित्यका प्रामाणिक विद्वान् हुनुहुन्छ ।