शशिको अतिकोमल ..

शशिको अतिकोमल 

शशिको अतिकोमल कान्ति सरी ।
हरिको मुरली मन लिन्छ हरी ॥
यमुना तटका हरिया लहरा । 
भ्रमरा चटका रमणीय चरा ॥ शशिको…
वनमा हरि पालनु भो सँगमा ।
लिई दाज्यू र बालक गाई तहाँ ॥ शशिको…
नवमेघ समान छ कान्ति निलो । 
परिपूर्ण छ ब्रह्म सनातनको ॥ शशिको…
मुरलीस्वर कृष्ण बजाउछन ।
स्वरली सब सुन्दरी गाउँछन ॥ शशिको… 
मृग सिंह परस्पर मित्र छन । 
घनघोर मनोहर चित्र छन ॥ शशिको…
हरिणी करिणी चरनै तजने ।
दिल एक गरी मुरली सुनने ॥ शशिको… 
मधु जङ्गलका नव जन्तु चरा । 
मुरलीस्वरमै परि मग्न वरा ! ॥ शशिको…
चहकी चहकी सब घुम्दछन ।
मधुरो मुरली स्वर सुन्दछन ॥ शशिको… 
चिडीया सब छाड़ी निज बचरा | 
मुरली तिर मग्न भए बिचरा ! ॥ शशिको…
मुरली मुखली फुकनु घनन ।
स्वरले सब जंगल भो रतन ॥ शशिको…
घनघोर भयो घनघोर भयो । 
मुरली स्वरमै सब चित्त गयो ॥ शशिको….
मुरली स्वरकै स्वर शब्द सुनी ।
सब सुन्दरी ताहीं पुगे दगुरी ॥ शशिको… 
सुन साथी ! अली चल लौन छिटो । 
मनमोहकको मुरली छ मिठो ॥ शशिको… 
मन दी हरिमा सब ती बनिता ।
जब ताँत छुटो तब भो रमिता ॥ शशिको… 
कतिका त फुके कबरी शिरका ।
 कतिका त फुके कमरी पटुका ॥ शशिको….
कतिका करधानि भए खुकुला | 
कटिवस्त्र फुकेर भए मुकुला ॥ शशिको…
विपरीत लगाई लुगा कतिले ।
कतिले न लगाई लिएर हिडे ॥ शशिको…
कतिले उलटा गहना पहिरे ।
उलटै कुलट पुलटै दगुरे ॥ शशिको… 
कति खान पकाउन चट्ट तजी । 
दगुरे युवती हरि मै मन दी ॥ शशिको…
कति हड़बडिदै कति लट्पटिदै ।
म अघि म अघि भनि झट्पटिदै ॥ शशिको… 
जति शब्द उती पद चल्दछन । 
छमछम छमछम् गरि घुम्दछन ॥ शशिको…
जति सुन्दरी गोपकुमारी थिए । 
मनमोहन कृष्ण उती. बनिए ॥ शशिको…     ॐ

Leave a Reply

Your email address will not be published. Required fields are marked *