श्रीरङ्गम् दिव्यक्षेत्र
श्री १००८ देवकीनन्दनाचार्य स्वामीजी महाराजको सत्सङ्कल्पद्वारा पूर्वी नेपालको झापा जिल्लाको शिवसताक्षी नगरपालिका-८ (साविक सतासीधाम-४), श्रीरङ्गम् दिव्यक्षेत्र (लालझोडा)मा वि.सं. २०४४ बाट अनौपचारिक रूपमा श्रीदेवकीनन्दनाचार्य मठ तथा श्रीरङ्गनाथ मन्दिरको स्थापना भएको हो । वि.सं. २०४५ मा शिलान्यास भएर मन्दिरको निर्माण कार्य प्रारम्भ भएको थियो ।
भक्त- भागवतहरूको सक्रिय सहभागिता र सहयोगमा वि.सं. २०५५मा भवन निर्माण सम्पन्न गरी जि.प्र.का. झापामा विधिवत् रूपमा संस्था दर्ता सम्पन्न भयो । यसरी वि.सं. २०४४ सालबाट यस मठमा भगवान्को आराधना, गौसेवा तथा भक्त-भागवतहरूको यथासम्भव सेवा भइरहेको छ । तर मन्दिर प्राणप्रतिष्ठा हुनुपूर्व नै यस मठका संस्थापक तथा संरक्षक आचार्य, श्री१००८ देवकीनन्दनाचार्य स्वामीजीको वि.सं. २०६२ भाद्र महिनामा वैकुण्ठवास भयो । त्यसबेलासम्म मन्दिरको मूल भवन जीर्ण भइसकेको महसुस गरी नयाँ भवन निर्माण गरेर मात्र श्रीरङ्गनाथ भगवान्को प्राण-प्रतिष्ठा गर्नु पर्ने निर्णय भयो । तदनुसार वि.सं. २०६३ मंसिरमा नयाँ मन्दिरको शिलान्यास गरी भक्तजनहरूको दान दातव्यका बलमा दक्षिण भारतीय कलामा भव्य एवं सुन्दर मन्दिर निर्माण कार्य लगभग सम्पन्न भएको छ । अवशिष्ट केही अत्यावश्यक निर्माण कार्यहरूलाई पूरा गरेर वि.सं. २०५० जेठ ३ गतेदेखि ७ गतेसम्म पञ्चदिवसीय भगवत्प्राण-प्रतिष्ठा महोत्सव सम्पन्न हुने छ ।