॥ चर्पट मञ्जरी ॥

चर्पट मञ्जरी 

भज नारायण ! भज नारायण !
भज नारायण ! सज्जन हो !
मर्नु छ निश्चय भोलि कि पर्सी
यहि छ सहारा उस दिनको ॥
क्षण पल घरि दिन रात बिहाना,
घरि घरि नाम र भेष बिराना ।
काल जमाउँछ खेल तमाशा,
आयु घटे, तर घट्तिन आशा ॥ १ ॥ भज०
देह छ नाङ्गो कपडा छैनन्,
अँञ्जुली बाहिक भाँडा छैनन् ।
भिख गरि खान्छन् रुखमुनि बस्छन्,
तर पनि आशैतिर मन लान्छन् ॥ २ ॥ भज०
जब तक धनको लाउँछ धारो,
तब तक सबले मान्छ पियारो ।
वृद्ध हुँदा जब बल टुटि जाला,
बन्ला घरमै सबको हाला ॥ ३ ॥ भज०
कति मुण्ड़िदै छन् कति रँगिदै छन्,
कति लट्टाका प्रेमि हुँदै छन् ।
तर छन् ज्ञान बिना सब अन्धा,
भुँडिमै ठिक् छ सबको धन्धा ॥ ४ ॥ भज०
गीता अलिकति जो पढि लिन्छन्,
अलिकति गङ्गाजल निलि लिन्छन् ।
प्रभुको पूजन जो जन गर्नन् ,
किन ती यमका वशमा पर्नन् ॥ ५ ॥ भज ०
देह विचारा गलिगो सारा,
लौरो भो पर सर्न सहारा ।
केश फुलेका दाँत झरेका
सब छन् आशै तर्फ गिरेका ॥ ६ ॥ भज०
खेल्दै बितिगो बाल्य अवस्था,
तरुणी तिर गो तरुणाऽवस्था ॥
वृद्ध भएपछि चिन्ता लेला
हरिकन भजने कुन हो बेला ॥ ७ ॥ भज०
अनि पनि जन्मनु अनि पनि मर्नु
अनि पनि गर्भै तिर गै पर्नु ।
अब ता प्रभुजी पार लगाऊ
यो भवसागरबाट उठाऊ ॥ ८ ॥ भज०
पक्ष र तिथि ऋतु वार घुमन्ता,
अनि उहि दिउँसो रात र हप्ता ।
महिना अयन र वर्ष उनै छन् ,
आयु कतर्ने कैंचि यिनै हुन् ॥९॥ भज०
यौवन सकिँदा काम छ ठट्टा,
पानि सुकेपछि पोखरि झुट्टा ।
धन सकियो त जहान बिराना
तत्व बुझेपछि संसार छ टूना ॥ १०॥ भज०
हित मित सुत जन तन धन नारी,
गोठ र खेत पशू घर बारी।
सब यी जहिका तहिँ रहने छन्,
तिमिकन यमले खिँची लिनेछन् ॥११॥ भज०
कसले जगमा मकन पठायाे
कति दिन बाँच्नु छ जानु कता हो ?
मनमा गुन यति बात गहीरो,
यो सब चक्चकि स्वप्न सरी हो॥१२॥भज०
विष्णु सहस्र र गीता गाऊ,
प्रभुका पदमा ध्यान लगाऊ।
सज्जन सङ्गति तिर मन देऊ,
दुःखी जनको दुःख हरिलेऊ ॥ १३ ॥ भज०
जब तक तनमा प्राण रहन्छन्,
तब तक घरमा सोधनि गर्छन् ।
प्राण गएपछि पत्नी डर्छे,
थर्थरी काम्दै पर पर सर्छन् ॥१४॥ भज०
चञ्चल मनका वेग थमाऊ,
नश्वर सुखमा फस्न नजाऊ।
काम र क्रोध लोभ हटाऊ,
ज्ञान र भक्ति विराग बढाऊ ॥ १५ ॥ भज०
मुखका खातिर भोग गरिन्छन्,
भोग पछी पछि रोग भरिन्छन् ।
न त गरि खान्छन् न त मरि जान्छन्,
तर पनि पापैतिर मन लान्छन् ॥ १६॥ भज०
गङ्गा-सागर काशी घुम्छन्,
स्नान र दान व्रत कति गर्छन् ।
ज्ञान विना सय जन्म गुजारुन्,
मुक्ति हुँदैन र बुद्धि सपारुन् ॥१७॥ भज०

Leave a Reply

Your email address will not be published. Required fields are marked *